काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको रिटमाथि न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।
यसअघि कात्तिक १३ गते न्यायाधीशद्वय सुवेदी र शान्तिसिंह थापाको इजलासमा परेको उक्त निवेदन हेर्न नभ्याइनेमा राखिएको थियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले गत असार ३ गते दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असोज ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो ।
यसअघि असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीका नाममा तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।



