काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्रमाथि सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै थापाले समाचार लेखेकै आधारमा सञ्चारगृहभित्र प्रवेश गरेर पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको टिप्पणी गरे । उनले उक्त घटनाको कांग्रेसले सशक्त प्रतिवाद गर्ने बताए ।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको भूमिका शङ्कास्पद देखिएको उल्लेख गर्दै उनले पक्राउबारे सुरुमा अनभिज्ञता जनाइएको, पछि प्रधानमन्त्री कार्यालयको चासोका आधारमा पक्राउ गरिएको भनिएको र सचिवालयबाट २८ जना पत्रकारको सूची प्रहरीलाई पठाइएको विषय सार्वजनिक भएको बताए ।
पत्रकार पक्राउ परेर रिहा हुँदैमा यो प्रकरण समाप्त नहुने उनको भनाइ छ । यस घटनाले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताए ।
थापाले प्रहरी आफैँले निर्णय गरेर सञ्चारगृहमा प्रवेश नगरेको दाबी गर्दै सत्तामा रहेकाहरूले सामाजिक सञ्जालको प्रतिक्रिया र आफ्नो इच्छाका आधारमा राज्यका निकाय परिचालन गर्न खोजेको आरोप लगाए ।
सरकारमा रहेकाहरूमा आफूले चाहेको कुरा नै कानुन हो भन्ने मानसिकता देखिन थालेको भन्दै उनले राज्यशक्तिको स्वेच्छाचारी प्रयोगलाई सामान्य रूपमा लिन नसकिने बताए ।
प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेपलाई सामान्य घटनाका रूपमा नलिने स्पष्ट पार्दै थापाले यस विषयमा कांग्रेसले आवश्यक प्रतिवाद गर्ने बताएका छन् ।



