काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने भएपछि आठ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो। सोही क्रममा कात्तिक १३ देखि २० गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती गरिएको छ।
त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
यसैगरी, कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणका अनुसार मौसम प्रतिकूल भए निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्नेछ। भूमिगत विद्युत् लाइन विस्तारको कामलाई सहज बनाउन विद्युत् कटौती गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।



