१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति आएको आकस्मिक बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीको कारण सिन्ताफु हिमताल विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ ।
बाढीले गासा जिल्लाको छाचु क्षेत्र प्रभावित बनाएको छ भने मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लाको सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ । बाढीसँगै आएको ढुंगा, माटो र गेग्रानले पुनाखा–गासा राजमार्गको केही भाग बगाएको छ ।
सडक अवरुद्ध भएपछि लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)ले जनाएको छ ।
भुटानको गासा जिल्लामा रहेको सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । यो ताल देशका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । तर, हिमताल विस्फोट भएको आधिकारिक पुष्टि भने भएको छैन ।
बाढीका कारण अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका स्थानीय, सुरक्षाकर्मी, कर्मचारी तथा आगन्तुकलाई सुरक्षित स्थानमा सारिएको छ । पुनाखाको सेन्ट्रल स्कुलले आवासीय विद्यार्थीलाई समेत अग्लो स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।
यसैबीच, भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको जलस्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा साइरन सक्रिय पारिएको छ ।
बाढीको जोखिम बढेपछि पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ ।
बाढीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान
भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान
तपाईको प्रतिक्रिया



