१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन्। पार्टीले सार्वजनिक कार्यक्रम तथा औपचारिक गतिविधिमा सहभागी हुन रोक लगाएपछि उनी बिहीबार बसेको बैठकमा उपस्थित नभएका हुन्।
एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारमाथि छानबिन गरिरहेको छ। छानबिन प्रक्रिया पूरा नभएसम्म उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको छ।
बिहीबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठकमा कार्यविधिबारे छलफल भएको थियो। रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीका लागि खरिद गरेको पोसाकको गुणस्तर तथा खरिद प्रक्रियामा अनियमितता भएको दाबीसहित प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि दुवै सुरक्षा निकायले कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूको पोसाकका लागि सरकारले करिब एक अर्ब रुपैयाँ निकासा गरेको थियो।
उपसमितिले प्रहरीका दुवै निकायबाट प्राप्त विवरण तथा कागजात अध्ययन गरी कात्तिक ३० गतेसम्म प्रारम्भिक अध्ययन पूरा गर्ने तयारी गरेको छ। त्यसपछि थप छलफल गरी प्रतिवेदन तयार गरिनेछ।



