सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा तत्कालीन उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव रहेका छन् ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिका–६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व संकलन गर्ने क्रममा अनियमितता भएको आरोप छ । ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम लेनदेन, सम्झौताविना अग्रिम राजस्व असुली तथा संकलित राजस्व हिनामिना गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।
आयोगले नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनी व्यवस्थाविपरीत ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको तथा सरकारी रकम हिनामिना भएको जनाएको छ । साथै, ठेकेदारबाट असुल गर्नुपर्ने रकमसमेत असुल नगरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको आरोपपत्रमा उल्लेख छ ।
आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ ।
त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत महतो र राजस्व शाखा प्रमुख सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो मागदाबी गरिएको छ । ठेकेदार यादवविरुद्ध पनि १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी कानुनबमोजिम सजायको माग गरिएको आयोगले जनाएको छ ।
आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरेको हो । मुद्दा दायर हुनु आरोपको न्यायिक पुष्टि भने होइन । प्रतिवादीहरूको दोष अदालतबाट प्रमाणित हुन बाँकी छ ।



