कात्तिक, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहमा जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिलाई प्रशिक्षित गर्न पाठ्यक्रम तयार गरेको छ । स्थानीय सरकारको प्रभावकारी सञ्चालन, सेवा प्रवाह र सुशासनमा केन्द्रित रहेर पार्टीले पाठ्यक्रम निर्माण गरेको हो ।
रास्वपाले स्थानीय सरकार सञ्चालन ऐन, पार्टीको विधान, नीति तथा चुनावी वाचापत्रमा आधारित रहेर पाठ्यक्रम तयार गरेको जनाएको छ । पार्टीको लिडरसिप एकेडेमीले तयार गरेको पाठ्यक्रमअनुसार वडा सदस्यदेखि पालिका प्रमुखसम्मका आकांक्षीले अनिवार्य प्रशिक्षण लिनुका साथै आफ्नो योग्यता परीक्षण गर्नुपर्नेछ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखामा समावेश गरिएको पाठ्यक्रम ‘हाइब्रिड प्रशिक्षण मोडल’ मार्फत सञ्चालन गरिनेछ । रास्वपाले १ भदौदेखि गाउँपालिका र २९ असोजदेखि नगरपालिकाका जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।
पाठ्यक्रममा पार्टीको राजनीतिक दर्शन, वैचारिक स्पष्टता, सांगठनिक संरचना, आन्तरिक अनुशासन, निर्णय प्रक्रिया र चुनावी वाचापत्रका विषय समेटिएका छन् । साथै संविधान, संघीयता, स्थानीय व्यवस्थापिका, तीन तहका सरकारको क्षेत्राधिकार र शक्ति पृथकीकरणबारे पनि प्रशिक्षण दिइनेछ ।
जनप्रतिनिधिका आकांक्षीलाई स्थानीय सरकारको नीति तथा योजना निर्माण, बजेट कार्यान्वयन, कर सङ्कलन, सार्वजनिक खरिद, उपभोक्ता समिति गठन र अनुदान व्यवस्थापनबारे जानकारी गराइनेछ । समानीकरण, सशर्त, समपूरक र विशेष गरी चार प्रकारका अनुदान तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण पनि पाठ्यक्रममा समावेश छन् ।
सेवा प्रवाह र डिजिटल सुशासनमा जोड
नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने, जनसहभागिता बढाउने र स्थानीय विवाद समाधान गर्ने विषयलाई पनि पाठ्यक्रमले समेटेको छ । जन्म, मृत्यु तथा बसाइँसराइ दर्ता, नाता प्रमाणित, विपन्नता सिफारिस र जग्गासम्बन्धी सिफारिस प्रक्रियाबारे समेत प्रशिक्षण दिइनेछ ।
त्यस्तै, न्यायिक समितिको क्षेत्राधिकार, इजलास सञ्चालन, प्रमाण सङ्कलन, फैसला लेखन र मेलमिलापको कानुनी प्रक्रियाबारे आकांक्षीलाई जानकारी गराइनेछ । बेरुजु रोकथाम, आन्तरिक नियन्त्रण प्रणाली र सार्वजनिक खर्चमा पारदर्शिता कायम गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
डिजिटल सेवा प्रवाहअन्तर्गत नागरिक एप, राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता प्रणाली, तथ्याङ्कमा आधारित सुशासन र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे प्रशिक्षण दिइनेछ । सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर बुलिङ नियन्त्रण र विद्युतीय कारोबार ऐनसम्बन्धी विषय पनि पाठ्यक्रममा छन् ।
विपद् व्यवस्थापनदेखि व्यक्तिगत आचरणसम्म
बाढी, पहिरो र आगलागीजस्ता विपद्को पूर्वतयारी, पूर्वसूचना प्रणाली, जोखिमयुक्त क्षेत्रको पहिचान तथा सुरक्षित बस्ती विकासमा स्थानीय सरकारको भूमिकाबारे पनि पढाइनेछ ।
यसका अतिरिक्त उम्मेदवारका आकांक्षीलाई आर्थिक पारदर्शिता, व्यक्तिगत जीवनशैली, खर्च व्यवस्थापन, बचत र आमसभा तथा घरदैलोमा प्रभावकारी रूपमा बोल्ने कलाबारे प्रशिक्षण दिइनेछ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखाअन्तर्गतको पाठ्यक्रमलाई आवश्यकता र समयअनुसार लिडरसिप एकेडेमीले परिमार्जन गर्न सक्ने पार्टीले जनाएको छ ।
रास्वपाको उम्मेदवार छनोट प्रक्रिया : पढाइ, परीक्षा र मूल्याङ्कन
रास्वपाको उम्मेदवार छनोट प्रक्रिया : पढाइ, परीक्षा र मूल्याङ्कन
तपाईको प्रतिक्रिया



