काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करण आजदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि शुभकामना दिएका छन्।
उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ ९क्यान० लाई प्रतियोगिताको सफलताको शुभकामना दिएका हुन्।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्,’ उनले भनेका छन्।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
प्रतियोगिताको पहिलो खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।
प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्।
एनपीएलका खेलहरू हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन्।



