काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन युवा नेतृत्वको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीलाई नयाँ गति दिन र संगठनलाई देशव्यापी रूपमा सुदृढ बनाउन आफूले उम्मेदवारी दिएको बताए ।
गुरुङले १५औँ महाधिवेशनलाई कांग्रेसका लागि महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । उनले पार्टीका सबै तहमा युवाको सहभागिता बढाउनुपर्ने बताए ।
उनले पार्टी सभापति गगन थापाको नेतृत्वमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । तरुण पुस्तालाई देशव्यापी रूपमा संगठित गर्दै पार्टीलाई थप सशक्त बनाउन आगामी महाधिवेशनमा व्यापक छलफल आवश्यक रहेको उनको भनाइ थियो ।
गुरुङले तरुण दलका साथै सक्षम, योग्य र ऊर्जावान् नेतृत्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन र योग्य व्यक्तिलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भूमिका खेल्नुपर्ने उनको धारणा छ ।
खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका गुरुङले महाधिवेशन प्रतिनिधिहरूबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका छन् ।
देशलाई नयाँ दिशा दिने र पार्टी बलियो बनाउने संकल्प : विद्वान गुरुङ
देशलाई नयाँ दिशा दिने र पार्टी बलियो बनाउने संकल्प : विद्वान गुरुङ
तपाईको प्रतिक्रिया



