२० असोज, चितवन । चितवनका उद्योगी–व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि तत्काल पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई भेटेर नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार व्यवसायीहरूले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन तथा तत्काल आवश्यक संरक्षणका काम अघि बढाउन माग गरेका छन् ।
व्यवसायीहरूले नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमबारे तत्काल प्राविधिक अध्ययन गर्न सम्बन्धित सरकारी निकायबाट प्राविधिक टोली खटाउन पनि आग्रह गरेका छन् ।
अध्यक्ष सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले लामिछानेलाई भेटेको हो ।
व्यवसायीहरूको आग्रहपछि लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएको सुवेदीले बताए ।
उनले छिट्टै प्राविधिक टोली पठाएर अध्ययन गरिने र त्यसपछि आवश्यक काम अघि बढाउने आश्वासन दिएको पनि सुवेदीले जानकारी दिए।
रवि लामिछानेलाई चितवनका व्यवसायीको आग्रह : नारायणगढ बजार जोगाइदिनुस्
रवि लामिछानेलाई चितवनका व्यवसायीको आग्रह : नारायणगढ बजार जोगाइदिनुस्
तपाईको प्रतिक्रिया



