१० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यले सुम्पिएको गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गरिने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गोपनीयताको दुरुपयोग गर्ने व्यक्तिलाई कुनै उन्मुक्ति नदिने बताएका हुन् ।
उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन् । पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् ।
उनका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुनसक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन् । त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने उनको भनाइ छ ।
संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।
गोप्य सूचना चुहाउनेलाई कारबाही गर्छौँ : गृहमन्त्री गुरुङ
गोप्य सूचना चुहाउनेलाई कारबाही गर्छौँ : गृहमन्त्री गुरुङ
तपाईको प्रतिक्रिया



