१९ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
यसअघि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा उपसभापति पूर्णबहादुर खड्कासँग नजिक रहेका पाण्डे विशेष महाधिवेशनपछि भने सभापति गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता अद्यावधिक गर्दै नयाँ नेतृत्वसँग जोडिएका हुन्।
विशेष महाधिवेशन तथा देउवा नेतृत्वको कांग्रेसले वैधानिकता पाएको अवस्थामा समेत पाण्डे उपसभापति पदमै उम्मेदवार बन्ने तयारीमा थिए। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन थापा नेतृत्वको कांग्रेसले मान्यता पाएपछि उनी थापा नेतृत्वमै सक्रिय भएका हुन्।
पार्टीभित्र एकता, सुदृढ संगठन निर्माण र वैचारिक स्पष्टतासहित अघि बढ्ने प्रतिबद्धता जनाउँदै पाण्डेले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीभित्र र बाहिरबाट निरन्तर उठिरहेको कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकतालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन्। पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने प्रयासलाई आफ्नो प्रमुख जिम्मेवारी बनाउने उनको भनाइ छ।
पाण्डेले आफू ४५ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताएका छन्। उनी यसअघि दुई पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। त्यसअघि उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता थिए।
सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आधार बनाउँदै आएको पाण्डेको दाबी छ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई कार्यशैलीको मूल आधार बनाउँदै आएको उल्लेख गर्दै उनले सरकार र संगठनबाट प्राप्त अनुभवलाई अब पार्टीको हितमा उपयोग गर्ने बताएका छन्।
कांग्रेस उपसभापतिका लागि मुख्यमन्त्री पाण्डेले उम्मेदवारी दिने
कांग्रेस उपसभापतिका लागि मुख्यमन्त्री पाण्डेले उम्मेदवारी दिने
तपाईको प्रतिक्रिया



