काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको बताए । उनका अनुसार आन्दोलनमा रहेका विद्यार्थीलाई होस्टेल खाली गर्न लगाउनुका साथै कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ ।
मेडिकल कलेजमा भइरहेको अनियमितताविरुद्ध आवाज उठाएपछि विद्यार्थीमाथि कलेज प्रशासनले दबाब दिएको अन्सारीको आरोप छ ।
उनले नेशनल मेडिकल कलेजले करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् काममा नरहेका प्राध्यापक देखाएर पीजी सिट लिएको आरोप लगाए । चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेज व्यवस्थापनले सुरक्षागार्डलाई नक्कली बिरामी बनाएर इमर्जेन्सीमा राखेको दाबी उनले गरे ।
‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू देखाएर पीजी सिट लिइएको छ,’ अन्सारीले भने, ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा सुरक्षागार्डलाई बिरामी बनाएर राखिएको छ ।’
उनले मेडिकल कलेजमा ‘नक्कली बिरामी, नक्कली शिक्षक र नक्कली निरीक्षण’का नाममा गोरखधन्दा चलाइएको आरोप लगाउँदै राज्यका सम्बन्धित निकायले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताए ।
अन्सारीले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै मेडिकल कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका विभिन्न निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाए ।
उनले आफूले उठाएको विषय कुनै एउटा संस्थाविरुद्धको आरोप मात्र नभई चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्नुपर्ने विषय भएको स्पष्ट पारे ।
आन्दोलनरत विद्यार्थीलाई होस्टेल खाली गर्न लगाइएको र कलेज प्रवेशमा रोक लगाइएको दाबी गर्दै उनले विद्यार्थीका माग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
रहबर अन्सारीको आरोप : नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’
रहबर अन्सारीको आरोप : नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर ‘गोरखधन्दा’
तपाईको प्रतिक्रिया



