काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारलाई पाँचै वर्ष सत्ता र सरकार टिकाउन शुभकामना दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा वर्षे अधिवेशनको समीक्षा गर्दै सांसद राईले सरकारले जनताका प्रश्नको पर्याप्त जवाफ दिन नसकेको भन्दै प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराए ।
उनले अधिवेशनका क्रममा पटक–पटक खोज्दा पनि प्रधानमन्त्रीलाई संसद्मा भेट्न नसकेको बताए । आगामी अधिवेशनमा त्यस्तो अवस्था नदोहोरियोस् भन्दै उनले सरकारलाई संसद् र प्रतिपक्षप्रति जिम्मेवार बन्न आग्रह गरे ।
आउँदै गरेका नेपाली चाडपर्वलाई स्मरण गर्दै राईले सरकारलाई देउसीको शैलीमा शुभकामना दिएका थिए । उनले भने, ‘अर्को साल आउँदा सुनको छाना भनेजस्तै आशीर्वाद दिनुपर्ने भयो । सरकारले प्रतिपक्षलाई सही ढंगबाट हिँडाउन सकोस्, हामीलाई सम्हालेर अगाडि बढ्न सकोस् र जनताको आवाजको उत्तर दिन सकोस् ।’
रास्वपाभित्र विवाद रहेको सुनिएको उल्लेख गर्दै उनले सरकारलाई पाँचै वर्ष टिक्न शुभकामना दिए । आफू राजनीतिशास्त्रको विद्यार्थी भएको उल्लेख गर्दै उनले विगतमा दुई तिहाइ बहुमतसहित बनेका सरकारको उदाहरणसमेत प्रस्तुत गरे ।
‘सत्ता जोगाएर, सरकार जोगाएर पाँचै वर्षसम्म टिकाउनुभयो भने तपाईं–हामीले अथवा जनताले आशा गरेको जस्तो हुनेछ,’ उनले भने ।
सांसद राईले संसद्मा उठेका कतिपय प्रश्नको मन्त्रीहरूले जवाफ दिए पनि प्रधानमन्त्रीबाट पर्याप्त जवाफ नआएको बताए । अधिवेशन सकिँदा जनताको आवाज लिएर रित्तै फर्किनुपरेको उनको भनाइ थियो ।
उनले संसद्को गतिविधिप्रति चिन्ता व्यक्त गर्दै विगतका आन्दोलनमा राजनीतिक दलका गतिविधिका कारण सार्वजनिक तथा निजी संरचनामा क्षति पुगेको प्रसंगसमेत उठाए । बहुदलीय प्रतिस्पर्धा र संसदीय अभ्यासलाई हल्का रूपमा नलिन उनले सरकार र प्रतिपक्ष दुवैलाई आग्रह गरे ।
अन्त्यमा उनले आगामी अधिवेशनसम्म सरकारको व्यवहारमा सुधार आउने अपेक्षा राख्दै भने, ‘फेरि तीन महिनापछि हाम्रो भेट होस् । तपाईंहरू आफैँले आफ्नो सरकार नढाल्नु होला ।’
रास्वपालाई सांसद राईको देउसी आशिष् : पाँचै वर्ष टिक्नु, आफ्नै सरकार नढाल्नु
रास्वपालाई सांसद राईको देउसी आशिष् : पाँचै वर्ष टिक्नु, आफ्नै सरकार नढाल्नु
तपाईको प्रतिक्रिया



