१४ असोज, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह निर्वाचन केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि देशभरका पालिका पुग्ने भएको छ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरूलाई टोली बनाएर ७७ जिल्लाका ७५३ वटै पालिकामा पठाउने तयारी गरिएको हो।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका गुनासा र सुझाव सुन्नुका साथै पार्टीका नीति, योजना र आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रियाबारे जानकारी गराउनु हो।
उनले भिडियो सन्देशमार्फत रास्वपाका केन्द्रीय सदस्य तथा सांसदहरू नागरिकको घरदैलोमा पुगेर पार्टीका विषयमा जानकारी गराउने बताएकी छन्।
रास्वपाले पालिका केन्द्रित अभियानका मुख्य दुई उद्देश्य तय गरेको जनाएको छ। पहिलो, स्थानीय तहको कामकारबाही तथा आगामी निर्वाचनमा उम्मेदवार छनोटको विधिबारे नागरिकलाई जानकारी गराउने र दोस्रो, वर्तमान सरकार गठन भएपछि संसद् र सरकारमार्फत भएका काम तथा नीतिगत पहलका विषयमा जानकारी गराउने रहेको छ।
रास्वपाले आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनका लागि सक्षम र नेतृत्व गर्न तयार व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने बताउँदै आएको छ। यसका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रियामार्फत उम्मेदवार छनोट गर्ने पार्टीको योजना छ।
त्यस्तै, सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे पनि अभियानमार्फत जानकारी गराइने रास्वपाले जनाएको छ।
सहमहामन्त्री डाँगीले यो अभियान चुनावी तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व छनोट गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा अघि बढाइने बताएकी छन्।
रास्वपाको स्थानीय तह केन्द्रित अभियान : २० असोजदेखि हरेक पालिका पुग्दै
रास्वपाको स्थानीय तह केन्द्रित अभियान : २० असोजदेखि हरेक पालिका पुग्दै
तपाईको प्रतिक्रिया



