१४ असोज, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले हिउँदयामको विद्युत् आपूर्ति व्यवस्थापनका लागि वैकल्पिक तयारी अघि बढाएको छ।
बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले गृहकार्य थालेका हुन्।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्राधिकरणले हिउँदयामको विद्युत् माग व्यवस्थापनका लागि टास्क फोर्स बनाएर काम गरिरहेको छ। त्रिशूली करिडोरबाट विद्युत् आपूर्ति अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको उनले बताए।
काठमाडौंमा थप भूमिगत ग्रिड निर्माण गरिने
हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्रालयले काठमाडौं महानगरपालिका र सडक विभागसँग थप भूमिगत ग्रिड निर्माणका विषयमा छलफल गरेको छ।
मंगलबार भएको छलफलमा सडक विभाग, काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणका अधिकारी सहभागी थिए। प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत तार व्यवस्थापनसँगै वैकल्पिक विद्युत् ग्रिड निर्माणलाई अघि बढाउने तयारी गरेको छ।
सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए।
काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनका लागि आवश्यक सहकार्य गर्ने बताए।
त्यस्तै, प्राधिकरणका आयोजना निर्देशनालय प्रमुख दुर्गानन्द बडियातले उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै हिउँदे विद्युत् माग व्यवस्थापनमा आवश्यक समन्वय गर्ने बताए।
प्राधिकरणको बागमती वितरण तथा ग्राहक निर्देशनालय प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौंको लोड व्यवस्थापनबारे प्रस्तुतीकरण गर्दै हिउँदे माग व्यवस्थापनका लागि टास्क फोर्समार्फत काम भइरहेको जानकारी दिए।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच उच्चस्तरको सहकार्य आवश्यक रहेको बताए। उनले हिउँदमा विद्युत् प्रणालीमा पर्न सक्ने चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताए।
हिउँदयाममा बिजुली अभाव हुन नदिन सरकारको तयारी
हिउँदयाममा बिजुली अभाव हुन नदिन सरकारको तयारी
तपाईको प्रतिक्रिया



