१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षतिपछि पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो देखाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्तामा भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले गम्भीर चासो र ऐक्यबद्धता व्यक्त गरेको उनले जानकारी दिए।
‘भेटघाटका क्रममा भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो र नेपालमा परेको दुःखप्रति सबैले ऐक्यबद्धता जनाउनुभएको थियो,’ मन्त्री खनालले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौं भन्ने विषयमा औपचारिक तथा अनौपचारिक भेटवार्तामा प्रश्न र प्रसंगहरू उठेका थिए।’
उनका अनुसार बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले रुचि देखाएका छन्। नेपालले भोगिरहेको जलवायु संकटप्रति पनि विश्व समुदाय गम्भीर रहेको उनले बताए।
‘समग्रतामा नेपाल जलवायु संकटले निम्त्याइरहेको प्रकोपमा परिरहेको छ। त्यसप्रति पनि विश्व समुदायको ऐक्यबद्धता रहेको पाएँ,’ उनले भने, ‘नेपालले आफ्ना अप्ठ्याराहरूलाई विश्व मञ्चमा जसरी उठायो, त्यसमा सबैको विशेष चासो रहेको पाएँ।’
मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन तथा नेपाली प्रतिनिधिमण्डलका उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित र जलवायु न्यायका विषयलाई थप सशक्त रूपमा उठाउन सहयोग पुगेको बताए।
भोटेकोशी पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको चासो : परराष्ट्रमन्त्री खनाल
भोटेकोशी पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको चासो : परराष्ट्रमन्त्री खनाल
तपाईको प्रतिक्रिया



