राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि खटाइयो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश अधिवेशन असोज २१ गते हुनेछ।
मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपाले जिल्ला अधिवेशन सकेर प्रदेश अधिवेशनको तयारी थालेको हो। हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएको राप्रपाले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तथा अधिवेशन हुन बाँकी जुम्ला र धनकुटालाई असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्न समय दिएको छ।
प्रदेश अधिवेशनलाई व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन समितिले सातै प्रदेशमा निर्वाचन प्रतिनिधि खटाएको छ। कोशीमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहका सम्बन्धित पदाधिकारी र छनोट भएका प्रतिनिधिको सहभागिता रहनेछ।
यस्तै, केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै राप्रपाले सक्रिय सदस्यता वितरण तथा विवरण प्रविष्टिको कामलाई तीव्रता दिएको छ। असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन र विवरण प्रविष्टि गर्न सकिने पार्टीले जनाएको छ।
सक्रिय सदस्यबाट समानुपातिक तथा समावेशी आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले बताए।
असोज २१ मा राप्रपाको प्रदेश अधिवेशन हुँदै
असोज २१ मा राप्रपाको प्रदेश अधिवेशन हुँदै
तपाईको प्रतिक्रिया



