डाक्टर कुट्नेलाई अब जरिबाना तिरेर मात्रै उन्मुक्ति नहुने
काठमाडौँ । सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीमाथि हातपात, कुटपिट तथा अस्पतालमा तोडफोड, तालाबन्दी र घेराउ गर्नेलाई कडा सजाय गर्ने गरी कानुन संशोधन प्रस्ताव गरेको छ।
स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधिसभामा दर्ता गराएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको संशोधन विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयकले स्वास्थ्यकर्मीको परिभाषासमेत फराकिलो बनाएको छ। अब इन्टर्नसिप गरिरहेका डाक्टर तथा नर्ससहित मेडिकल एन्ड एलाइड साइन्सअन्तर्गतका विद्यार्थीलाई समेत स्वास्थ्यकर्मीका रूपमा समेट्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, स्वास्थ्यकर्मीको सुरक्षामा भौतिक र आर्थिकसँगै मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेत समावेश गरिएको छ।
विधेयकअनुसार स्वास्थ्य संस्थामा तोडफोड गरी क्षति पुर्याउने, स्वास्थ्यकर्मी वा कर्मचारीमाथि कुटपिट, हातपात वा शारीरिक चोट पुर्याउने तथा हतियारसहित आपराधिक बल प्रदर्शन गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिबाना हुने प्रस्ताव गरिएको छ। हालको कानुनमा भने तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबानामध्ये कुनै एक सजाय हुने व्यवस्था छ।
त्यस्तै, स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई कैद र जरिबाना दुवै हुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेकोमा अब दुवै सजाय हुने प्रस्ताव गरिएको हो।
अस्पतालमा तालाबन्दी वा घेराउ गर्ने, बिरामीको उपचारमा बाधा पुर्याउने तथा स्वास्थ्यकर्मीलाई धम्की, गालीगलौज वा अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव पनि विधेयकमा छ।
यससँगै स्वास्थ्यकर्मीमाथि हुने हिंसाका घटनामा केवल जरिबाना तिरेर उन्मुक्ति पाउने विद्यमान व्यवस्थालाई कडा बनाउने सरकारको प्रस्ताव छ।
– डाक्टरमाथि कुटपिट गर्नेलाई जरिबानाले मात्रै नछुटाउने व्यवस्था
– डाक्टरमाथि कुटपिट गर्नेलाई जरिबानाले मात्रै नछुटाउने व्यवस्था
तपाईको प्रतिक्रिया



