काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीको मानसिक दबाब र ज्यादती सहन नसकी बस चालकले आत्मदाह गरेको दाबी गर्दै यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्।
सोमबार बा ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक दावा लामाले आफ्नै शरीरमा आगो लगाएको घटनालाई लिएर यातायात क्षेत्रका संगठनहरूले ९ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका हुन्।
मंगलबार ६ वटा यातायात महासंघ तथा मजदुर संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। संगठनहरूको दाबीअनुसार मुलपानीबाट थानकोट जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलले अवरोध गरेपछि चालक लामाले हर्न बजाएका थिए।
हर्न बजाएको विषयलाई लिएर ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको र थप प्रहरी बोलाएर यात्रुलाई ओराल्दै करिब दुई घण्टासम्म बस नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ।
चालक लामाले आफ्नो गल्ती नभएको बताए पनि ट्राफिक प्रहरीले उनलाई हप्काउँदै ‘बग्गीखाना’ जान दबाब दिएको संगठनहरूको दाबी छ। घटनापछि मानसिक दबाबमा परेका लामाले आत्मदाह गरेको उनीहरूको आरोप छ।
यातायात व्यवसायी तथा मजदुर संगठनहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा यातायात मजदुरमाथि हुने दुर्व्यवहार रोक्न माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन्।
त्रिपुरेश्वर घटनामा यातायात मजदुर–व्यवसायीको विरोध
त्रिपुरेश्वर घटनामा यातायात मजदुर–व्यवसायीको विरोध
तपाईको प्रतिक्रिया



