काठमाडौँ । चर्चित भारतीय फिल्म ‘महाराजा’को दोस्रो भाग बन्ने भएको छ। अभिनेता विजय सेतुपतिले निर्देशक निथिलन स्वामिनाथनले ‘महाराजा २’को कथा आफूलाई सुनाइसकेको पुष्टि गरेका हुन्।
आफ्नो आगामी फिल्म ‘बथ्था’को अडिओ सार्वजनिक कार्यक्रममा सेतुपतिले निर्देशक निथिलनको लेखनको प्रशंसा गर्दै ‘महाराजा २’को कथा आफूलाई निकै मन परेको बताए। पहिलो भागमा निथिलनसँगको सहकार्य उत्कृष्ट रहेको उनको भनाइ थियो।
यसैबीच, सन् २०२४ मा रिलिज भएको ‘महाराजा’को हलिउड रिमेकसमेत बन्ने तयारी भइरहेको छ। निर्माता सुधन सुन्दरमका अनुसार चीनमा फिल्मले राम्रो प्रदर्शन गरेपछि हलिउडको एक एजेन्सीले रिमेक अधिकारका लागि निर्मातासँग सम्पर्क गरेको थियो।
एजेन्सीले ए–लिस्ट कलाकारलाई लिएर परियोजना अघि बढाइरहेको र आगामी वर्षदेखि छायांकन सुरु हुन सक्ने सुन्दरमले द टाइम्स अफ इन्डियालाई बताएका छन्।
हलिउड रिमेकमा आफूलाई पनि भूमिका दिन सेतुपतिले इच्छा व्यक्त गरेका छन्। उनले पारिश्रमिक नलिई समेत अभिनय गर्न तयार रहेको बताउँदै आफूलाई भूमिकामा राख्न निर्मातासँग आग्रह गरेको जानकारी दिए। हलिउडमा काम गर्ने आफ्नो लामो समयदेखिको इच्छा रहेको उनको भनाइ छ।
रिमेकमा अभिनेता म्याथ्यु म्याककोनहेले मुख्य भूमिका निर्वाह गर्ने चर्चा चले पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन। निर्माता सुन्दरमले म्याककोनहे सम्भावित कलाकारमध्ये एक हुन सक्ने तर कलाकार र स्टुडिओबारे अन्तिम निर्णय सम्बन्धित एजेन्सीले गर्ने बताएका छन्।
निथिलन स्वामिनाथन निर्देशित ‘महाराजा’मा विजय सेतुपतिले मुख्य भूमिका निर्वाह गरेका थिए। अनुराग कश्यपसमेत प्रमुख भूमिकामा रहेको फिल्म सन् २०२४ मा रिलिज भएको थियो। पछि फिल्म नेटफ्लिक्समा समेत उपलब्ध भएको थियो।
‘महाराजा २’ आउँदै, हलिउड रिमेकबारे विजयको खुलासा
‘महाराजा २’ आउँदै, हलिउड रिमेकबारे विजयको खुलासा
तपाईको प्रतिक्रिया



