जापानको आइची–नागोयामा जारी २०औँ एसियन गेम्सअन्तर्गत करातेको पहिलो दिन नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। पहिलो दिन प्रतिस्पर्धामा उत्रिएका चारै नेपाली खेलाडी पदकविहीन बने। तीमध्ये तीन खेलाडी कास्य पदकका लागि भएको निर्णायक भिडन्तमा पराजित भए।
नेपालकी प्रमुख आशा एरिका गुरुङले महिला कुमुतेमा क्वार्टरफाइनलमा जोर्डनकी नासेर यारालाई ७–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। तर सेमिफाइनलमा काजखस्तानकी सोफियासँग २–१ ले पराजित भइन्।
सेमिफाइनलमा पराजित भएपछि एरिकाले कास्य पदकका लागि साउदी अरेबियाकी मोस्ताफा डिनासँग प्रतिस्पर्धा गरेकी थिइन्। तर उनी ८–७ को झिनो अन्तरले पराजित भइन्। यससँगै गत संस्करणमा रजत पदक जितेकी एरिका यसपटक पदकविहीन बनिन्।
पुरुष ५५ केजीमुनि कुमुतेमा राकेश मानन्धरले क्वार्टरफाइनलमा थाइल्यान्डका नाथाकितलाई ९–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए। तर सेमिफाइनलमा उज्वेकिस्तानका खालिमोभसँग ७–० ले पराजित भएपछि उनले कास्यका लागि प्रतिस्पर्धा गरेका थिए। कास्य पदकको भिडन्तमा राकेश मलेसियाका कलियानासँग ९–१ ले पराजित भए।
यस्तै, ६० केजीमुनि मिनबहादुर तामाङले ताजाकिस्तानका मोहमदलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। तर सेमिफाइनलमा कुवेतका सावानसँग १०–० ले पराजित भए। कास्य पदकका लागि भएको खेलमा उनी साउदी अरेबियाका अल्बाशेरसँग २–० ले पराजित भए।
महिला व्यक्तिगत कातामा भने सानुमाया थिङ अन्तिम १६ को खेलमा दक्षिण कोरियाकी चोइ हाइनसँग ५–० ले पराजित भइन्।
यससँगै करातेको पहिलो दिन नेपाल पदकविहीन रह्यो।
करातेमा तीन नेपाली खेलाडी पदकको भिडन्तबाट बाहिरिए
करातेमा तीन नेपाली खेलाडी पदकको भिडन्तबाट बाहिरिए
तपाईको प्रतिक्रिया



