हाइटी । हाइटीको तटीय क्षेत्रमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै शुक्रबार घटनाबारे जानकारी दिएको हो।
आईओएमका अनुसार बुधबार ८० भन्दा बढी आप्रवासी बोकेर हाइटीबाट टर्क्स एन्ड काइकोसतर्फ गइरहेको डुङ्गामा आगलागी भएको थियो। घटनामा ४० जनाको मृत्यु भएको र ४१ जनालाई हाइटीको कोस्ट गार्डले उद्धार गरेको जनाइएको छ।
आईओएमका हाइटी प्रमुख ग्रेगोइर गुडस्टेनले हाइटीमा बढ्दो सुरक्षा संकट र सुरक्षित तथा कानुनी रूपमा विदेश जान सक्ने मार्गको अभावका कारण आप्रवासीहरू जोखिमपूर्ण यात्रामा निस्कन बाध्य भएको बताएका छन्।
हाइटीमा पछिल्लो समय हिंसा र असुरक्षाको अवस्था गम्भीर बन्दै गएको छ। आईओएमका अनुसार यस वर्ष हालसम्म ८६ हजारभन्दा बढी आप्रवासीलाई छिमेकी देशहरूले जबर्जस्ती हाइटी फर्काएका छन्। मार्चमा मात्रै करिब १३ हजार आप्रवासी जबर्जस्ती फर्काइएका थिए, जुन अघिल्लो अवधिको तुलनामा ४६ प्रतिशत बढी हो।
यसैबीच, हाइटीको सुरक्षा संकट समाधान गर्ने प्रयासस्वरूप केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा सहयोग (एमएसएस) मिसनले राजधानी पोर्ट–ओ–प्रिन्समा काम सुरु गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को समर्थनमा सञ्चालन भइरहेको उक्त मिसनमा हाइटीको राष्ट्रिय प्रहरीलाई सहयोग गर्न विदेशी सुरक्षाकर्मी परिचालन गरिएको छ।
हाइटीमा नयाँ प्रधानमन्त्री ग्यारी कोनिलको नियुक्ति र अन्तर्राष्ट्रिय सुरक्षा सहयोगको सुरुवातसँगै देशको लामो समयदेखिको सुरक्षा तथा मानवीय संकट समाधान हुने अपेक्षा गरिएको छ।
हाइटीमा आप्रवासी सवार डुङ्गामा आगलागी, ४० जनाको मृत्यु
हाइटीमा आप्रवासी सवार डुङ्गामा आगलागी, ४० जनाको मृत्यु
तपाईको प्रतिक्रिया



