काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संसदीय समिति वा सर्वदलीय संयन्त्र गठन गर्न माग गरेका छन्।
मंगलबार सभामुख डीपी अर्यालसँग भेट गर्दै आङ्देम्बेले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई एकीकृत र प्रभावकारी ढंगले अघि बढाउन तत्काल आवश्यक पहल गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्।
विशेषगरी रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको अवस्था, राहत तथा पुनर्निर्माणका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्। बाढी गएको २० दिन बितिसक्दा पनि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुन नसकेकोप्रति समेत उनले चासो व्यक्त गरेका छन्।
रसुवामा बाढी गएको भोलिपल्टै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए। तर प्रस्ताव आएको लामो समय बितिसक्दा पनि त्यस्तो संयन्त्र गठन हुन सकेको छैन।
आङ्देम्बेले विपद्को तत्कालीन व्यवस्थापनसँगै भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना र पुनर्निर्माणको स्पष्ट खाका आवश्यक रहेको बताएका छन्।
भेटका क्रममा संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत सभामुखको ध्यानाकर्षण गराइएको आङ्देम्बेको सचिवालयले जनाएको छ। सरकारका कामकारबाहीबारे प्रधानमन्त्रीलाई संसद्मै जवाफदेही बनाउने यस्तो कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।
त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौती तथा जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।
नेपालमा पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएकाले जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्नेमा आङ्देम्बेले जोड दिएका छन्।


