काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ ।
मन्त्री छनोटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले टुंग्याउने भएका छन् ।
नेकपाले कर्णालीमा पाएको तीन मन्त्रालयमा मन्त्री छनोटका लागि सोमबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि सात जना आकांक्षीको नाम केन्द्रमा पठाइएको नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
यसअघि सोमबार बिहान ११ बजे तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले समेत शपथका लागि समय तय गरिसकेको थियो । तर अन्तिम समयमा मन्त्रीको नाम सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।


