काठमाडौँ । कोशी प्रदेश सरकार सोमबार पुनर्गठन हुँदैछ। नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुन लागेको हो।
सरकारमा सहभागी हुने भएसँगै नेकपाले मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।
नेकपा कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लो पटक पनि मन्त्री थिए । आचार्य नेकपा संयोजक प्रचण्डका छोरी ज्वाइँ हुन् ।
गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छिन् ।


