काठमाडौँ । नेपाल आयल निगमले शनिवार मात्रै उपभोक्ताहरूलाई निगमको टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धारा, पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल बिक्री केन्द्रहरूबाट विभिन्न ब्रान्डको ६,८०२ एलपी ग्यासका सिलिन्डरहरू प्रत्यक्ष रूपमा बिक्री गरेको छ। आइतबार पनि निगमले निगमको टेकु परिसर, पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजार जुडो हल परिसर, ताकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय, राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट एलपी ग्यासका सिलिन्डरहरू वितरण गरिरहेको छ। ग्यास लिनका लागि उपभोक्तहरु लामो लाइन बसिरहेका छन् । तर पनि उनीहरूले सहज मात्रामा ग्यास पाउन सकेका छैनन् ।
बजारमा ग्यास अभाव भएपछि उधोगमन्त्री गौरीकुमारी आफै लागि परेकी छिन् । उनी उपभोक्तालाई फोन गरेर ग्यास उपलब्ध गराउनदेखि बजार अनुगमनमा सक्रिय बनेकी छिन् । उनी होटेलदेखि ग्यास उद्योगसम्म ग्यासको अनुगमनका लागि आफै निस्केकी छिन् । उपभोक्तालाई फोनमा ग्यास अभाव छैन भन्दै विश्वस्त पारिरहेकी छिन् । तर यता उपभोक्ता भने ग्यास नपाएकै कारण सिलिन्डर बोकेर लाइन बस्न बाध्य छन् ।
नेपाल आयल निगमको प्रवक्ता तथा आपूर्ति तथा वितरण विभागका उपनिर्देशक मनोजकुमार ठाकुर उपभोक्ताले ग्यास स्टक राख्न खोज्दा अभाव सिर्जना भएको दाबी गर्छन्। उपभोक्ताका सबै खाली सिलिन्डर भरिने गरी ग्यास आएमा वा उपभोक्ताले स्टक राख्न नखोजेमा मात्र ग्यासको अभाव देखिन छाड्ने उनको भनाइ छ । तर, यो अवस्था तत्कालै नदेखिएको उनले बताए ।
ठाकुरले भने,“नेपालमा मासिक ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । साउन ३० गतेसम्मको तथ्याङ्क हेर्नुहुन्छ भने ५५ हजार मेट्रिक टन ग्यास आइसकेको छ। ग्यास खपत भन्दा बढी ग्यास आउँदा पनि बजारमा अझै अभाव उस्तै छ भनेसि उपभोक्ताले स्टक राखेर नै अभाव देखिएको हो ।”
गत फागुनमा ५४ हजार मेट्रिक टन ग्यास आएको थियो सो बेलामा पनि ग्यास अभाव नै रहेको ठाकुर बताउँछन् । “गत फागुनमा हेर्नुहुन्छ भने ५४ हजार मेट्रिक टन ग्यास आएको छ । त्यतिखेर पनि अभाव देखियो । त्यसपछि आधा भरेको सिलिन्डर पठाइयो, यतिखेर ३२ हजार मेट्रिक टन ग्यासले पनि अभाव भएन । चैतमा ३८ हजार मेट्रिक टन ग्यास आयो । वैशाखमा ३२ हजार, जेठमा ३३ हजार मेट्रिक टन ग्यास आयो । यतिखेर अभाव सुनिएन । हाफ सिलिन्डरले पनि उपभोक्तालाई सहज गराएको थियो, उनले भने,तर यो बिचमा खपत हुने ४५ हजार मेट्रिक टन ग्यास आएन । यसले गर्दा खाली सिलिन्डर थुप्रिँदै गए । हाफ सिलिन्डर पाउँदा उपभोक्ता पसलमा जाने र ल्याउने गरे । तर, यस बेला न उपभोक्ताकोमा न त डिलर र उद्योगमा स्टक रह्यो।”
निगमले दुई दिन वितरण गरेको ठाउँमा पनि अति आवश्यक भएका उपभोक्ता भन्दा अन्य नै आउने गरेको पनि उनी बताउँछन् । उनले भने, “यो बिदाको दुई दिन सरकारले ग्यास बाडेको ठाउँमा हामीले अत्यावश्यक भएको, पकाउँदा पकाउँदै ग्यास सकिएका, घरमा अर्को ग्यास नभएकोलाई बाडेका हौँ । तर त्यहाँ स्टक राख्ने नै उपभोक्ता आइरहेका छन् जस्तो हामीलाई लाग्छ।”
उपभोक्ताहरूले ग्यास स्टक नराख्ने हो भने अवस्था सहज हुने उनको दाबी छ।


