काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर महत्वाकाङ्क्षी योजना अघि बढाउनुपर्ने बताएका छन्।
सानेपामा आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक कार्यक्रममा उनले सरकारले सबै ज्ञान र क्षमता आफूसँग मात्र छ भन्ने सोच त्यागेर निजी क्षेत्रसँग साझेदारी गर्नुपर्नेमा जोड दिए।
थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य आधार बनाउन सकिने उल्लेख गर्दै यसलाई कुनै एक दलको नभई साझा राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताए। उनले यस क्षेत्रमा आवश्यक कानुनी र नीतिगत सहयोग गर्न कांग्रेसका सांसदहरू तयार रहेको पनि स्पष्ट पारे।
साथै, संसदमा हुने बहसलाई तथ्यपरक बनाउन आवश्यक अध्ययन सामग्री र प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने जानकारी पनि उनले दिए।


