काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा डडेलधुरामा पनि जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको काम अघि बढेको छ।
जिल्ला भूमि समस्या समाधान समिति, डडेलधुराले अजयमेरु गाउँपालिका–२ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित रहेका ती परिवार लालपुर्जा पाएसँगै अब कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तरता दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जिम्मेवारी सम्हालेपछि भूमिसम्बन्धी समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्दै लालपुर्जा वितरणको कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विभिन्न जिल्लामा नापजाँच, लगत प्रमाणीकरण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै योग्य लाभग्राहीलाई धमाधम लालपुर्जा वितरण भइरहेको छ। डडेलधुरामा ७ परिवारलाई लालपुर्जा वितरण हुनु पनि यही अभियानको निरन्तरता भएको बताइएको छ।
सरकारले आगामी दिनमा पनि भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई थप प्रभावकारी बनाउँदै देशभर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


