काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ। मंगलबार महामन्त्री विपिन कुमार आचार्यले पाँच बुँदे निर्देशन जारी गर्दै पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिच जीवन्त संवाद अपरिहार्य भएको बताएको छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोकेको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिचको जीवन्त संवाद अपरिहार्य छ। निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, सङ्गठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ’, विज्ञप्तिमा भनिएको छ ।
सांसदहरूको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको चुस्तता एक–अर्काका पूरक भएको र सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्याउनेछ र जनताप्रतिको हाम्रो जवाफदेहितालाई थप कसिलो बनाउनेछ भन्ने कुरा मनन गर्न समेत दिशानिर्देशन दिएको छ।



