काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई थप सक्रिय र विषयगत रूपमा प्रभावकारी बनाउन छ वटा नयाँ उपसमिति गठन गरेको छ। प्रतिष्ठानले विभिन्न क्षेत्रका नीति, अध्ययन र समन्वयका कामलाई व्यवस्थित बनाउन उपसमितिहरूको नेतृत्वसमेत निर्धारण गरेको हो।
प्रतिष्ठानका संयोजक तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अपाङ्गता, आदिवासी जनजाति, दुर्व्यसन नियन्त्रण, पूर्वआप्रवासी, सञ्चार तथा कृषि क्षेत्रलाई केन्द्रमा राख्दै छुट्टाछुट्टै उपसमिति गठन गरेका छन्।
निर्णयअनुसार अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको नेतृत्व प्रकाश पन्थले गर्नेछन्। आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको जिम्मेवारी डा. डीबी सुनार र पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईंलाई चयन गरिएको छ।
यस्तै, सार्थक सम्प्रेषण उपसमितिको संयोजक मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको नेतृत्व सिताराम काफ्लेले सम्हाल्ने भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानको असार २५ र २६ गते बसेको बैठकले यी निर्णय गरेको हो। बैठकले उपसमितिहरूलाई विषयगत अध्ययन, नीति निर्माणमा सहयोग, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा पार्टीका विविध वर्ग र समुदायसँग समन्वय बढाउने जिम्मेवारीसमेत दिएको जनाएको छ।
प्रतिष्ठानले आगामी दिनमा नीति अनुसन्धान, प्रशिक्षण र संगठनात्मक क्षमता अभिवृद्धिलाई थप प्रभावकारी बनाउने गरी कार्ययोजना अघि बढाउने तयारी गरेको कांग्रेसले जनाएको छ।


