काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बागमती अधिवेशन नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिले ढिलो गरेपछि प्रतिनिधिहरु घर फर्कन थालेका छन् । मंगलबार विहान सुरु भएको अधिवेशन हिजो नै सक्ने गरी कार्यतालिका बनाइएपनि बुधबार बिहानसम्म मतदान सुरु नभएपछि धेरै प्रतिनिधि घर फर्केको हेटौंडामा रहेका एक प्रतिनिधिले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा चार जनाले उम्मेदवारी दिएका छन। जसमा अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले सभापति पदको दाबेदारी गरेका थिए। मतदान प्रक्रिया समयमा सुरु हुन नसकेपछि अधिकांश प्रतिनिधि घर फर्केका छन् ।
अधिवेशनका लागि हेटौंडा पुगेका एक प्रतिनिधिका अनुसार निर्वाचन समितिका कारणले अधिवेशन स्थगित हुन पुगेको बताए । उनी भन्छन्,‘हिजो मतदान नभएपछि ७० प्रतिशत बढी प्रतिनिधि घर फर्किसके । निर्वाचन समितिले मतदान समयमा गर्न नसक्दा अधिवेशन स्थगित हुने अवस्था बन्दै गयो ।’ संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ र विभाग सचिव शंकर श्रेष्ठको अकर्मण्यताले समयमा मतदान सुरु हुन नसकेको ती प्रतिनिधिको भनाइ छ । उनी भन्छन्, ‘केन्द्रीय नेताहरु रहेको निर्वाचन समितिले समयमा मतदान प्रक्रिया सुरु नगरेपछि कमजोरी उहाँहरुकै देखियो ।’ संगठन विभागका सचिव श्रेष्ठले मतदानमार्फत नेतृत्व चयन गर्ने प्रक्रियामै रहेको जानकारी दिए । धेरै उम्मेदवारका लागि मतपत्र छपाउन समय लागेको हुँदा अधिवेशन लम्बिएको उनले बताए ।
श्रेष्ठले न्युज एक्सप्रेससँग भने, ‘मतदान हुन्छ । कति बजेबाट गर्ने बारे छलफल गर्दैछौं । आज मतदान हुन नसके अर्को दिन गर्ने गरी भएपनि निर्वाचनबाट नयाँ नेतृत्व आउँछ ।’ अधिवेशनमा १३ सय बढी प्रतिनिधि सहभागी थिए । रास्वपाले प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरेको थियो ।

