काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सबै सामुदायिक तथा निजी विद्यालयहरूमा एक सातासम्म बिदा दिने निर्णय गरेका छन्।
नगरपालिकाहरूले आइतबार जारी गरेको सूचनाअनुसार जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको छ। त्यसपछि जेठ १४ गते बिहीबार बकर इद र जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा पर्नेछ। यस्तै, १६ र १७ गते नियमित शनिबार र आइतबार परेकाले थप दुई दिन विद्यालय बन्द रहनेछ।
यसरी स्थानीय तथा सार्वजनिक बिदाहरू लगातार परेपछि दुबै नगरपालिकाका विद्यालयहरू करिब एक सातासम्म बन्द हुने भएका हुन्। कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार गर्मी बिदाबाट कट्टी हुने गरी तीन दिन स्थानीय बिदा दिइएको छ।

