जनकपुरधाम ।जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादबीच संसदीय दलका नेता महेश प्रसाद यादवले मधेश प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको स्पष्ट पारेका छन् ।
संसदीय दलको कार्यालयबाट प्रदेश प्रमुखलाई पठाइएको पत्रमार्फत पार्टीको आधिकारिक निर्णय नभएसम्म सरकारलाई दिएको समर्थन कायम रहने जानकारी गराइएको हो । नेता यादवद्वारा हस्ताक्षरित पत्रमा पार्टीको औपचारिक बैठकबाट निर्णय नभएसम्म कुनै पनि व्यक्तिको दाबीलाई आधिकारिक मान्न नसकिने उल्लेख गरिएको छ ।
पत्रमा केही व्यक्तिहरूले बिना आधिकारिक निर्णय समर्थन फिर्ता लिएको भन्दै गरिएको दाबीप्रति असहमति जनाउँदै त्यस्ता गतिविधिबाट भ्रम नफैलाउन आग्रह गरिएको छ । साथै, पार्टीभित्र देखिएको मतभेदलाई औपचारिक निर्णयका रूपमा व्याख्या नगर्न पनि स्पष्ट पारिएको छ ।
जनमत पार्टी मधेश सरकारमा दुई जना मन्त्री छन् । दलका नेता यादव मधेश प्रदेश सरकारका अर्थमन्त्री छन् भने वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री छन् ।
यसअघि, जनमत पार्टीकै सचेतक चन्दन सिंहको नेतृत्वमा १० जना प्रदेश सभा सदस्यले नेपाली कांग्रेस नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए ।
तर, संसदीय दलका नेताको पछिल्लो पत्रसँगै जनमत पार्टीभित्रको विवाद थप सतहमा आएको छ र सरकारको स्थायित्वबारे अन्योल बढेको छ ।

