काठमाडाैं । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले शुक्रवार पदबाट राजीनामा दिनु भएको छ । उहाँले आफ्ना सहयोगीहरूलाई थिचोमिचो गर्ने गरेको भनी लगाइएको आरोपमाथि अनुसन्धान गरिएको थियो । राब कट्टरपन्थी ब्रेक्जिटसमर्थक हुनुहुन्छ र प्रधानमन्त्री ऋषि सुनकको बफादार साझेदारमध्ये एक हुनुहुन्छ । आफूले कसैमाथि अशिष्ट व्यवहार नगरेको उहाँले बताउँदै आउनु भएको थियो ।
तर स्वतन्त्र वकिलले गरेको अनुसन्धानमा उहाँविरुद्ध सरकारी कर्मचारीहरूले दुर्व्यवहारको आरोप लगाएका थिए । विगत ६ महिना नैतिकताको प्रश्न उठेर मन्त्रिपरिषदबाट राजीनामा दिने राब तेस्रा मन्त्री हुनुहुन्छ । उहाँ न्यायमन्त्री हुनुहुन्थ्यो । सुनकले मर्यादित, व्यावसायिक र जवाफदेही सरकार चलाउने भनी गरेको प्रतिज्ञामाथि राब लगायतका काण्डले चुनौती दिएका छन् ।