राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
सोमबार लामिछाने र रुबियोबीच टेलिफोन वार्ता भएको हो । टेलिफोन अमेरिकी विदेशमन्त्री रुबियोले गरेको रास्वपाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । टेलिफोन वार्तामा भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेकोबारे कुरा भएको थियो ।
“टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभयो,” रास्वपाले भनेको छ ।
टेलिफोन वार्तामा सभापति लामिछानेले नेपाल सरकारले हाल जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
नेपाली नागरिकका साथसाथै नेपाल सबै विदेशी नागरिकको सुरक्षाका लागि पनि उत्तिकै प्रतिबद्ध रहेको आश्वासन सभापति लामिछानेले विदेशमन्त्री रुबियोलाई दिएका थिए ।


