काठमाडौँ । नेपाली सेनाले जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने बताएको छ ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले टनेलहरू ब्रेक थ्रु नभएसम्म खोजी जारी रहने बताएका हुन् ।
भोटेकोशीको बाढीका कारण क्षति पुगेका रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीहरुले संयुक्त खोज तथा उद्धार गरिरहेका छन् । सरकारले नखोज्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म निरन्तर खोज तथा उद्धार जारी राखिने सहायक रथी थापाले जानकारी दिए ।
भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । आयोजना स्थल र विद्युत्तको सुरुङमा फसेका ८९८ जना मानिसहरू सम्पर्क विहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०ले जनाएको छ । रसुवा जिल्लामा रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला बिपदबाट प्रभावित भएका छन् । नुवाकोट जिल्लामा त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा प्रभावित छन् ।


