काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो ।
बुधबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ । त्यसअघि मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।