काठमाडौं । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ पर्नु भएको छ । गंगादेव गाउँपालिका ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ‘मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले गोप्पे सुचनाका आधारमा आइतबार दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गर्दा सो पेस्तोल भेटिएको थियो ।
पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरेको छ । वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ । उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।