काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गर्नु भएको हो ।
सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिनु भयो ।
उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ । विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ । ऐन र नियमावलीको मर्मलाई समेटछ । र, अदालती आदेशको पनि सम्मान पुग्छ । तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु-तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् र थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाईयोस्।’
सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पार्नुभयो ।