युवाहरू प्रति खुला आह्वान राजेश शिल्पकार, भक्तपुर नगर सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, भक्तपुर
भक्तपुरको उज्ज्वल भविष्य निर्माणका लागि आज म विशेषगरी युवाहरूलाई नेतृत्व लिन खुला आह्वान गर्दछु। इतिहास, संस्कृति र सम्भावनाले भरिएको ऐतिहासिक सहर भक्तपुर अब संकीर्ण राजनीतिक सोच, अरूको राजनीतिक विचारको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति र सीमित घेराभित्रको राजनीतिबाट मुक्त हुन जरुरी छ। यसको लागि नयाँ सोच, नवीन ऊर्जा र प्रगतिशील, इमानदार नेतृत्व अपरिहार्य छ।
म दृढ विश्वासका साथ भन्छु—यो परिवर्तनको केन्द्रमा युवा पुस्ता हुनुपर्छ। राजनीति केही सीमित व्यक्तिको अधिकार क्षेत्र होइनस समाज बुझ्ने, प्रविधिसँग परिचित, पारदर्शिता र जवाफदेहिता खोज्ने युवाहरू अब नेतृत्वको अग्रपंक्तिमा आउनैपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सधैं योग्यता, इमानदारी र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राख्दै आएको छ। यही मूल्य र मान्यताअनुसार म व्यक्तिगत रूपमा युवाहरूलाई नेतृत्व सुम्पिन आतुर छु। पार्टी, संगठन र अभियानका हरेक तहमा तपाईंहरूको सक्रिय सहभागिताका लागि आवश्यक सहयोग, अवसर र उपयुक्त मंच उपलब्ध गराइनेछ।
ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुर—जहाँ परम्परा, पहिचान र गौरव जिउँदा छन्—आज यही सहरलाई प्रगतिशील राजनीतिक चेतना, सुसंस्कृत व्यवहार, जिम्मेवार सोच र वैकल्पिक राजनीतिक दृष्टिकोण भएका युवा नेतृत्वको खाँचो छ। राजनीति सत्ता प्राप्तिको साधन होइन, सेवा र उत्तरदायित्व हो भन्ने बुझाइ राख्ने, संस्कृतिको सम्मान गर्दै विकास चाहने, इमानदारी, पारदर्शिता र जवाफदेहितामा विश्वास गर्ने युवाहरू अब अगाडि आउनुपर्छ।
भक्तपुरको नेतृत्व अब पुराना सोच र सीमित घेराभित्र अड्किनु हुँदैन। नयाँ विचार, नयाँ ऊर्जा र युवाको नेतृत्वबाट मात्र भक्तपुरले आफ्नो गौरव जोगाउँदै समुन्नत भविष्य निर्माण गर्न सक्छ।
यदि तपाईं परिवर्तन चाहनुहुन्छ, यदि तपाईं सही राजनीतिमा विश्वास गर्नुहुन्छ, र यदि तपाईं भक्तपुरको भविष्यप्रति जिम्मेवार नागरिक हुनुहुन्छ—आजै नेतृत्वका लागि तयार हुनुहोस्।
सुसंस्कृत वैकल्पिक राजनीतिमा हातेमालो गरौं। ऐतिहासिक भक्तपुरका लागि, युवाको नेतृत्वमा नयाँ राजनीतिकसंस्कार स्थापना गरौं। आउनुहोस्—युवाको नेतृत्वमा नयाँ भक्तपुर निर्माण गरौं।


