काठमाण्डाै । सार्वजनिक ठाउँमा फोहर फाल्ने बढेपछि काठमाण्डाै महानगरपालिकाले निगरानी बढाएको छ । सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि कामपाले हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको हाे । जथाभाबी फोहर फालेको भन्दै कामपाले गएकाे हप्ता जरिबानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ । गएकाे बिहीवार वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिबाना असुल गरेको हो ।
जरिबाना असुल गरी गाडीलाई फोहर जथाभाबी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागले बताएको छ । दुई हप्ताअघि पनि कामपाले तोकिएको ठाउँ भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप १२ हजार रुपैयाँ जरिबाना असुल गरेको थियो । वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिबाना तिराउन थालेको छ ।
कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिबाना गर्ने गरेको छ । उपत्यकाको १८ पालिकाकाे फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह समेत गरेको छ ।