काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोर टिममा भन्दै श्रीमती निकिता पौडेल लामिछानेको नाम प्रचार भएकोप्रति आपत्ति जनाउनु भएको छ । सभापति लामिछानेले बुधवार राति सामाजिक सञ्जालमा पोष्ट राख्दै आपत्ति जनाउनु भएको हो । उहाँले आफ्नो श्रीमानको प्रगतिबाहेक केही लिनु दिनु नभएकी एक योग्य र सक्षम महिलामाथि कायरहरु खनिएका भन्दै आक्रोश पोख्नु भएको छ ।
उहाँले निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभएको छ । निकिताले बिना कारण बदनामी र तनाव सहनुपरेकोप्रति क्षमा माग्दै लामिछानेले आफुहरुले घेराबन्दी तोड्ने र जित हासिल गरेरै छाड्ने बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ ‘एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन् । बिनाआधार, बिनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौँ । निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ’, रविले श्रीमतीलाई सम्बोधन गर्दै अगाडि भनेका छन्, ‘प्रिय निकिता बिनाकारण तिमीले सहनु परेको बदनामी र तनावप्रति कायरहरूको तर्फबाट म क्षमा चाहन्छु । न पीर गर, हामी यो घेराबन्दी तोड्नेछौँ, हामी जित्नेछौँ ।’
बुधवार रास्वपाबाट बर्खास्त गरिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाए कोर टिमबारे बाहिर कुरा ल्याउन अभिव्यक्ति दिनु भएको थियो । त्यससँगै निकिता पौडेलको समेत नाम राखेर सामाजिक सञ्जालमा प्रचार भएको थियो ।