काठमाण्डाै । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आउँदो वर्षको सुरुमै शतप्रतिशत पुर्याउने तयारी गरेको छ । अब १४ वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाका सात सय ३९ पालिकामा सेवा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ पालिकामा सेवा पुर्याउन बाँकी छ । यी क्षेत्रमा पनि विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ ।
फोरजी सेवा अहिले ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको टेलिकमले जनाएको छ । सुगमदेखि दुर्गम र विकट ठाउँमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्यअघि बढाएको थियो ।
मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाण्डाै र पोखरामा २०७३ साल पुस १७ गतेदेखि फोरजी सेवा सुरु गरेको थियो । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ।