सरकारले जेनजी स्मारक पार्क बनाउने भएको छ । सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यही भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनको सम्मानमा स्मारक पार्क बनाउने निर्णय गरेको हो ।
जेनजी स्मारक पार्क कहाँ बनाउने भन्ने स्थान पछि तय गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।यससँगै सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले असोज १ गते शोक बिदा दिने निर्णय पनि गरेको छ ।
यस्तै, घटनाको छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत भएको गृहमन्त्री अर्यालले बताए । शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको सोमबार पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो । जेनजीहरूकै माग अनुसार कार्की प्रधानमन्त्री बनेकी हुन् । उनले सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिपरिषद् चार सदस्यीय बनाएकी छन् ।