काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते हुनुभएको थियो । उहाँसँगै गम्भीर घाइते हुनु भएकी उहाँकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।
सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उहाँलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिनु भयो । उहाँको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको छ । दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइने र हिँडाउन पनि सुरू गरिएको छ। दिनमा तीन/चार पटक हिँडाउन थालिएको र उहाँ अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिनु भयो ।