काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या उकालो लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई संक्रमणका लक्षण देखिनासाथ आइसोलेसनमा बस्न आग्रह गरेको छ। मंगलबार मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो।
‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर वहाना नगरौं। कोभिडका लक्षण देखिनेबित्तिकै परीक्षण गराऔं र आइसोलेसनमा बसौं,’ सूचनामा भनिएको छ। हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ। मन्त्रालयले कोरोना बाट बच्न नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोनाविरुद्धको खोप लगाउन, बेलाबेला साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्न, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्न र भौतिक दूरी २ मिटर राख्न आग्रह गरेको छ।