काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिनु भंएकोछ । संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न उहाँको आग्रह छ। उहाँले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई सुझाव गर्नु भएको छ । अहिले धमाधम ओमिक्रोन भेरियन्ट फेला परिरहेका छन्।
मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो। सोअनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रोन विए दुइटा, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुइटा भेरियन्ट फेला परेका छन्। त्यस्तै ओमिक्रोन विए ५.२ दुइटा, ओमिक्रोन एक्सविवी १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवी २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन्।
‘कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ,’ उक्त विज्ञप्तिमा उल्लेख छ।