काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजामा सर्न लागेको काठमाडौं महानगरले कार्यालय प्रयोजनामा आवश्यक फर्निचरमा मात्रै करोडौँ खर्चन लागेको छ । यसका लागि महानगरले फर्निचर खरिद प्रक्रिया अघि बढाएको छ । हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरले पुराना फर्निचर प्रयोग नगर्ने भन्दै नयाँ सामान खरिद प्रक्रिया अघि बढाएको हो ।
महानगरले फर्निचर खरिद प्रक्रियाका लागि माघमै टेन्डर प्रक्रिया अघि बढाएको थियो । सोही प्रक्रियाअनुसार एक करोडको फर्निचर आइसकेको छ । माघमा एक करोड ६ लाख ५७ हजार पाँच रुपैयाँबराबरको सामान खरिदका लागि टेन्डर आह्वान गरेकोमा करिब एक करोडको सामान आइसकेको महानगरले जनाएको छ । काठमाडौं प्लाजामा सर्न यति फर्निचरले मात्रै पुग्दैन । महानगरपालिकाको सार्वजनिक निर्माण विभागका अनुसार नयाँ भवनमा करिब १२ करोडको फर्निचर लाग्नेछ ।