काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताउनु भएको छ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताउनु भएको हो ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले बताउनु भयो, ‘मलाई केही अनौठो लागेको छ । अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तर तात्त्विक रूपमा केही फरक छैन । निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु । पहिलेको भन्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया आइरहेका छन् ।’ लामिछानेले मुलुकको समृद्धिका लागि, सुशासनका लागि, आउँदो पुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि उमेद्वारी दिएको बताउनु भएको छ ।